Masto Kuldevata Foundation

About Us

मष्टोदेव र उनको परिष्कार

स्वर्गका राजा इन्द्रका सुपुत्र र पृथ्वीका राजा मष्टोदेवको महिमागान गर्न सामान्य मानिसलाई अत्यन्तै कठीन छ । तैपनि मष्टो कुलदेवता प्रतिष्ठान र केही विशिष्ट लेखकहरूलाई मष्टोदेवको बेला मौकामा आशीर्वाद प्राप्त भइरहन्छ । त्यसैले आफ्ना कुलदेवताप्रतिको अगाध आस्था र भगवानको कृपाले पुनः मष्टोदेवको पूजा विधि र विभिन्न माँडुहरूको छिटफुट परिचय भएका सम्बन्धित क्षेत्रका विज्ञहरूका लेख रचनाहरू संकलन गरी एकमुष्ट प्रकाशन गरी आम नेपाली तथा मष्टो पूजक दिदीबहिनी तथा दाजुभाइबीच प्रस्तुत गर्न पाउँदा अहोभाग्य सम्झेका छौं !

यस प्रकाशनबाट मष्टो कुलदेवता प्रतिष्ठानले हाल मष्टो पूजकहरूबीच के कस्ता विधि बिधानहरू प्रचलित छन् र तिनीहरूमा कसरी एकरुपता कायम गर्दै अझ उच्च स्तरको परिष्कार ल्याउन सकिन्छ भनी जोडदार प्रयत्नमा अहोरात्र खटेको छ । यसका पदाधिकारीहरू आफ्नो निजी खर्चमा देशका दुर्गम भूभागहरूमा रोमान्चकारी यात्रा गरेर फर्किएका छन् । यस्ता यात्राहरूमा हाम्रा कतिपय लेखहरू तिनै क्षेत्रसँग सम्बन्धित समेत छन् । कतिपय केन्द्रका पदाधिकारीहरू कालिकोट, बझाङ, डडेलधुरा, दाङ लगायतका जिल्लाहरूमा पुगेर आफ्ना अनुभवहरूलाई परिमार्जन गर्दै आफ्नो आस्थालाई अझ उचाई प्रदान गर्न सफल भएका छन् । मष्टोदेव नेपालीहरूका कूलदेवता मात्र नभएर नेपाल राष्ट्रको स्वाधीनता र स्वतन्त्रताका रक्षक पनि हुन् । मष्टो देवको कृपा रहेसम्म नेपाल राष्ट्रको अस्तित्व र अस्मिता सदैव स्वतन्त्र र पवित्र रहिरहने छ । आज दक्षिण एसियामा नवऔपनिवेशिक चलखेल तीब्र छ र हाम्रो मौलिक धर्मसंस्कृतिलाई मास्ने गरी आस्थाको व्यापार युद्ध स्तरमा चलेको छ । यसैले पनि हामीले कुल र राष्ट्रका रक्षक तथा नेपाललाई पृथ्वीकै अधिपति प्रमाणित गर्ने मष्टो देवको पूजाआजाको प्रचार प्रसार आम नेपाली जनमानसमा चौतर्फी रुपमा गर्नुपर्ने खाँचो महशुस गरेकाछौं । राष्ट्र रक्षाको अविभारा पाएको जिम्मेबार तह बाह्य प्रभावमा कमजोर सावित हुँदै गएपछि जनस्तरबाट त्यसको लागि स्वतन्त्र, स्वच्छ र पूर्वाग्रह रहित पहल आवश्यक हुन जान्छ। त्यसैले मष्टो प्रतिष्ठानको नाममा संगठित जनप्रयासबाट राष्ट्रको सभ्यता संस्कृति जातीय विधिबिधान र दैवी सोचको नैतिकता अनि सामाजिक उत्थान, आपसी प्रेमभावको प्रस्फुटन र सबै नेपाली बीचको शान्तिपूर्ण एवम् एकताबद्ध सहयात्राका लागि एउटा मौलिक प्रयास मष्टो प्रतिष्ठानबाट गर्न खोजिएको छ । देशलाई खण्डित पार्ने, देशको सभ्यता, संस्कृति र पहिचानलाई चिराचिरा पार्ने, यसको सद्भाव र एकतालाई खण्डित पार्ने सबैखाले षड्यन्त्रलाई सबै नेपाली मिलेर चिर्नु पर्दछ र त्यसका लागि भौतिक पहलमात्र नगरी आध्यात्मिक जागरण र कुलदेवता र पितृको आशीर्वादको पनि हामीलाई अहिले अत्यन्त खाँचो छ । नेपाल समृद्धि र एकताको मार्गमा अघि बढ्ने कि बिनास र द्वन्द्वको अँध्यारो खाडलमा जाकिने भन्ने कुरामा सबै नेपाली गम्भीर हुनुपर्छ र सबैले राष्ट्रदेवलाई कुलदेवलाई जगाएर नेपाल राष्ट्रको भलो चिताउनेहरूको समेत साथ लिएर देशलाई पुनः सभ्यता र संस्कृतिकै क्षेत्रमा भएपनि प्राणी मात्रको कल्याणमा अग्रसर गराउनु पर्दछ । मष्टोदेवले सबैको कल्याण गरुन् ! नेपाल राष्ट्र सवल होस् र नेपाली सबै शान्ति, समृद्धि र सुखको सुमार्गमा लाग्न सकुन् !! जय मष्टोदेव !!